काठमाडौँ — कांग्रेसमा प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक’ कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति भने विभाजित बनेको छ । 

जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रपछि शनिबार भएको पालिकास्तरको विरोध प्रदर्शनमा पनि नेताहरूको अभिव्यक्ति निर्वाचन कि पुनःस्थापना भन्नेमा बाझिएको छ । सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरूको मनस्थिति निर्वाचनमुखी देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित संस्थापन इतरपक्षीय अधिकांश नेताले ंसद् पुनःस्थापनाको एजेन्डालाई सशक्त बनाउँदै लगेका छन् । उनीहरूले अदालतप्रतिको आस्था र मर्यादालाई कायम राख्न न्यायाधीशहरूलाई विवेकपूर्ण निर्णयका लागि ध्यानाकर्षण गराएका छन् ।

विरोध सभामा नेताहरूले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयलाई आ–आफ्नो लाइनअनुसार व्याख्या गर्न थालेका छन् । वरिष्ठ नेता पौडेलसहित उनीपक्षीय नेताहरूले प्रतिनिधिसभा विघटनको कदमलाई पार्टीले असंवैधानिक भनिसकेपछि त्यसलाई सच्याउने मार्ग पुनःस्थापना नै हो भनेर व्याख्या गरेका छन् । पौडेलले शनिबार पनि पार्टीको निर्णय प्रतिनिधिसभा पुनःस्थापनाकै दिशामा रहेको बताए । सभापति देउवा र उनीपक्षीय नेताहरूले भने कार्यक्रमको स्वरूपलाई चुनावी तयारीसँग जोडेका छन् ।

देउवाले सार्वजनिक कार्यक्रमबाटै निर्वाचनका पक्षमा अभिव्यक्ति दिइरहेका छन् । पार्टीभित्र निर्वाचनका पक्षमा माहोल बनाउन उनले संस्थापनइतरमा रहेका कांग्रेस महामन्त्री शशांक कोइरालामार्फत पहल गरिरहेका छन् । कोइरालाले भने शनिबारको कार्यक्रममा पनि प्रतिनिधिसभा पुनःस्थापनाकै एजेन्डा पार्टीले लिने बताएका छन् । नवलपरासीको देवचुली नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गरिएकाले संविधानको रक्षाका लागि पनि पुनःस्थापना हुनुपर्ने बताए । सभापति देउवाले शुक्रबार उनलाई निवासमै बोलाएर निर्वाचनको पक्षमा माहोल बनाउन आग्रह गरेका थिए ।

स्थानीय तहमा आयोजित विरोध सभामा संस्थापनइतरपक्षीय नेताहरूले पार्टी सभापतिको भूमिकाको कडा आलोचना गरे । पुनःस्थापनाको एजेन्डा उठाउँदा अदालतको मानहानि हुने, निर्वाचनको पक्षमा बोल्दा मानहानि नहुने सभापतिको भनाइमै इमानदारी नभएको उनीहरूले बताएका छन् । उनीहरूले अदालतलाई बहाना बनाएर आन्दोलन कमजोर नबनाउन नेतृत्वलाई सुझाए । पार्टीको भरतपुर महानगरपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा देउवाप्रति लक्षित गर्दै पौडेलले पार्टीलाई दोधारमा नराख्न आग्रह गरे । उनले नेतृत्वलाई केबल चुनाव–चुनाव नभन्न आग्रह गरे । ‘किन हतारिएर भन्ने हो चुनाव–चुनाव, किन भन्ने हो अदालत ? केपी ओलीले अदालतलाई धम्क्याउने, हामी केही बोल्न हुन्न भनेर बस्ने ? यो कसरी मिल्यो ? त्यस्तो दोधार चरित्र कांग्रेसमा हुन सक्दैन,’ उनले भने, ‘कांग्रेस संविधान र सिद्धान्त जोगाउन लाग्ने कि चुनाव–चुनाव भन्ने ? प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगामी, संविधानविरोधी, अलोकतान्त्रिक भनेर पार्टीले निर्णय गर्ने, अनि चुनावमा जान्छु भन्न मिल्छ ? मोही माग्ने ढुंग्रो लुकाउने काम गर्न हुन्न । संविधान र लोकतन्त्र जोगाउन संसद् पुनःस्थापना नभई अर्को विकल्प छैन ।’

संविधानको अक्षर र भावना पढेर न्यायाधीशहरूलाई फैसला गर्न पनि पौडेलले आग्रह गरे । ‘आज अदालतमाथि विश्वास डगमगाएको छ । यो स्थिति कसरी पुग्यो ? राष्ट्रको आत्मसम्मान कसरी गुम्यो ?’ उनले भने, ‘आत्मसम्मान उठाउन संविधानमाथिको अपहरणलाई सच्याउनैपर्छ । सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरूलाई संविधानका अक्षर र भावना पढेर राष्ट्र र नेपाली जनतालाई न्याय दिन अपिल गर्छु ।’

सहमहामन्त्री प्रकाशरण महतले कांग्रेस जनतामा जान तयार रहेको बताएका छन् । पार्टीको ललितपुर महानगर, कागेश्वरी मनहरा नगर र टोखा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा महतले कांग्रेस चुनावबाट भाग्न नसक्ने बताएका हुन् । प्रतिनिधिसभा पुनःस्थापना भए डेढ वर्षपछि र नभए आगामी वैशाखमै निर्वाचन हुने जनाउँदै महतले निर्वाचनको तयारीमा पार्टी होमिनुपर्ने बताएका हुन् । ‘हामी जनताको अनुमोदन लिएर मात्रै सत्तामा जाने हो, जनता नै सर्वोपरी हो, जनतामा जान तयार छौं,’ उनले भने । उनले अदालतले प्रधानमन्त्री ओलीको कदमलाई सदर गरे पार्टीको सम्पूर्ण ध्यान वैशाखमा निर्वाचन गराउनेतर्फ केन्द्रित हुने बताए । ‘वैशाखमा निर्वाचन नगरेर आलटाल गर्‍यो भने देशभर आन्दोलनको आँधीबेहरी आउँछ, त्यतिबेला ओली नेतृत्वको सरकार रहँदैन,’ उनले भने ।

निर्वाचनको पक्षमा बोल्न छुट भए पनि पुनःस्थापनाको पक्षमा बोल्दा अदालतको मानहानि हुने सभापति देउवा र उनीपक्षीय नेताहरूको तर्कलाई कांग्रेस नेता शेखर कोइरालाले आन्दोलन कमजोर बनाउने भूमिकासँग जोडेर हेरेका छन् । मानवअधिकार तथा शान्ति समाज मोरङको साधरण सभामा उनले सभापतिको ढुलमुले चरित्रका कारण सशक्त आन्दोलन उठ्न नसकेको पनि बताए । ‘विपक्षी भएर जसरी अघि बढ्नुपर्ने थियो, सभापतिको भूमिकाले हुन सकेन,’ उनले भने, ‘अदालतको बहाना बनाउँदै आन्दोलनलाई कमजोर बनाउन खोजिएको छ ।’ उनले विरोध प्रदर्शनमा अदालतले लिकबाहिर फालिएको संविधानलाई जोगाउन आग्रह गरे । ‘सभापतिजीले अदालतमा परेको मुद्दालाई दबाब दिन हुन्न भन्नुभएको छ तर असंवैधानिक कदमलाई सच्याउनुपर्छ भन्दा न्यायपालिकालाई दबाब दिएको हुँदैन, भन्न पाइन्छ,’ कोइरालाले भने ।

अर्का नेता प्रकाशमान सिंहले राजधानीमा आयोजित सभामा बोल्दै मै संविधान हुँ भन्ने भावना ओलीमा देखिएको बताए । संविधान र प्रणालीको रक्षाका लागि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अघि सारेको उनले बताए ।

राजधानीमै आयोजित सभामा नेता गगन थापाले अदालतलाई विवेक पुर्‍याउन आग्रह गरे । ‘अदालतले विवेक पुर्‍याउँछ, संसद् पुनःस्थापना पनि हुन्छ,’ उनले भने, ‘त्यसपछि प्रधानमन्त्री र राष्ट्रपतिलाई घर फर्काइन्छ ।’ एउटा व्यक्तिको सनकले मुलुकमा आगो लगाएका बेला कांग्रेसले विवेक नपुर्‍याए मुलुक अन्धकारको सुरुङभित्र फस्ने बताए । उनले भने, ‘हाम्रो र अदालतको बलले संसद् पुनःस्थापना हुन्छ । त्यसपछि सबै चाँजोपाँजो मिल्छ, अहिले खुद्रामसिना कुरामा नलागौं ।’

मध्यपुर थिमिमा आयोजित सभामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई दबाबको भाषा नबोल्न आग्रह गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्