शेयरबजारका लागि बिहीबार ऐतिहासिक दिन सावित भएको छ । ठीक चार वर्ष चार महिनाअघि नेप्से सूचकले १८८१.५६ को बिन्दु पार गरेसँगै त्यसयता नयाँ रेकर्ड कायम गर्न सकेको थिएन । चार वर्षपछि भने नेप्सेले यसअघिको रेकर्ड तोड्दै नयाँ इतिहास रचेको छ ।

बिहीबार शेयरबजार परिसूचक नेप्सेले १९२६.१५ विन्दु कायम गरेको छ । योसँगै कारोबार रकमले पनि रेकर्ड तोडेकोे छ । आजै कुल ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भयो । 

चार वर्षअघि इतिहास रच्दा पनि महत्त्वपूर्ण भूमिका खेलेको बैंकिङ समूह आज पनि सूचक बढाउन सफल बनेको छ । नेप्से सूचक बढे पनि अधिकांश समूह राताम्मे बन्दा बैंकिङ समूह भने २.७ प्रतिशतले बढेको छ । 

बिहीबार वाणिज्य बैंकहरूको मात्रै २ अर्ब ९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । यीबाहेक निर्जीवन बीमा, जलविद्युत्, अन्य र विकास बैंकको कारोबार सबैभन्दा बढी भएका छन् । योसँगै आज निजीर्वन बीमा कम्पनी, लघुवित्त, व्यापारलगायतका समूहमा करेक्सन भएको छ । 

दिनभरको कारोबारमा अस्थिर बनेको शेयरबजारले प्रि-ओपन सेसनमा नयाँ रेकर्ड तोडेसँगै लगानीकर्ताहरू प्राेफिट बुक गर्न हतारिँदा दिनभर नेप्से घटबढको अवस्थामा रह्यो । 

शेयरबजार विश्लेषक विष्णु बस्याल शेयरसूचक बढेसँगै मूल्य आकाशिँदा लगानीकर्ताहरू नाफा बुक गर्न लाग्दा बजारले अस्थिर मोड लिएको बताउँछन् । 

उनले भनेजस्तै आजको नेप्से खुलेको ८ मिनेटमा १९ अंकले बढेर १९१५.३९ अंकको बिन्दुमा पुग्याे । त्यसपछि पुनः २१ मिनेटपछि ओरालो लागेर १८००.७८ कै बिन्दुमा झर्‍याे । यसरी बजार अस्थिर बन्दै १२.१३ मिनेटमा बजारले पुनः उकालो यात्रा तय गर्दै सर्वाधिक रेकर्ड १९२६.१५ बिन्दु कायम गर्न सफल बन्याे । सूचक बजार खुलेको डेढ घण्टामा नै ५४ अंकले बढ्दा प्रोफिट बुक गर्ने लगानीकर्ताहरूको चाप देखिन्छ । चाप बढेसँगै ओरालो र पुनः उकालो यात्रा तय गर्दै १८९३.२५ बिन्दुमा बन्द भयाे ।  

अस्थिर भए पनि समग्रमा नेप्सेसूचक बढेसँगै एनएमबी लघुवित्तसहित तीन कम्पनी सर्किट ब्रेकनजिक पुगे । निरन्तर सर्किट लागिरहेको एनएमबी लघुवित्तले १० प्रतिशतले शेयरमूल्य बढाएको छ भने आज अधिकांश बैंकले शेयरमूल्य बढाए । 

बजार अस्थिर बने पनि शेयरबजारमा बुलिस ट्रेण्ड अझै केही समय रहेर नेप्से १९५० बिन्दु कायम गर्दै करेक्सन मोडमा लाग्ने विश्लेषक बस्यालको आँकलन छ । यता लगानीकर्ता हरि ढकाल पनि बजारको बुलिस ट्रेण्ड लामो समयसम्म टिक्न सक्ने आँकलन गर्छन् । 

अझै बजार बढ्नुका यस्ता छन् प्रमुख आधारहरू 

शेयरबजारका जानकार तथा स्वयम् लगानीकर्ताहरू नै बजार अझै केही दिन बुलिस ट्रेण्डमै रहने बताउँछन् । शेयरबजार विश्लेषक बस्याल र लगानीकर्ता ढकाल अझै केही समय बजारले नयाँ उचाइ लिनेमा ६ कारण प्रमुख रहेको औल्याउँछन् । 

उनीहरूका अनुसार बढ्दो बैंकिङ तरलता, सहज तथा सस्तो शेयरकर्जा, लगानी गर्ने वातावरणको अभाव, स्टक डिलर छिट्टै भित्रिँदै, बजार बुलिस ट्रेण्डमा जाने लगानीकर्ताको मनोविज्ञान, बैंक तथा वित्तीय संस्थालगायत अन्य व्यावसायिक संस्थाको वित्तीय विवरण सकारात्मक आउनु बजारले नयाँ उचाइ लिने कारण हुन् ।

विश्लेषक बस्याल कोरोनाका कारण सबैभन्दा धेरै लगानी हुने क्षेत्र निर्माण क्षेत्रमा सर्वसाधारणको लगानी सुनिश्चित नबन्नु र शेयरबजार विश्वासिलो थलो बन्दै जाँदा बजारमा शेयरको डिमाण्ड अझै बढ्ने बताउँछन् । त्यसो त शेयरबजार विश्लेषक अम्बिका पौडेल पनि अर्थमन्त्री शेयरबजार प्रति सकारात्मक हुनु पनि नेप्से बढ्नु प्रमुख कारण रहेको बताउँछन् । 

यी कम्पनीले कमाए सबैभन्दा धेरै 

बिहीबार कारोबारमा आएका २ सय १ कम्पनीमध्ये एनएमबी, पीपीसीएल, हिमालयन ऊर्जा विकास बैंक, आँखुखोला जलविद्युत् आयोजना, नबिल, कुमारी, नेपाल बंगलादेश बैंक, चिलिमे हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एक्सेल विकास बैंक, एनसीसी बैंक, प्रभु बैंक, हिमालयन बैंक, शिवम् सिमेन्टसहित ५१ कम्पनीकाे शेयरमूल्य बढेको छ । जसमा सबैभन्दा धेरै एनएमबी बैंककाे ९९ रुपैयाँले शेयरमूल्य बढेको छ । 

बजार करेक्सन हुँदा यी कम्पनीको घट्यो शेयरमूल्य 

शेयरबजारले ऐतिहासिक छलाङ मारेको दिन शेयरमूल्य घटेर लगानीकर्ता दु:खी हुनेहरू पनि आज उत्तिकै छन् । कारोबारमा आएका १ सय १९ कम्पनीको शेयरमूल्य घटेको छ । जसमा साल्ट ट्रेडिङ कर्पोरेसनको शेयरमा करेक्सन भएर आज ६.१८ प्रतिशतले शेयर मूल्य घटेको छ । योसँगै हिजो शेयरमूल्यमा उछाल आएका ङादी ग्रुप अफ कम्पनी, बोटलर्स नेपालको शेयर करेक्सन भएर क्रमश ५.८८, ५.६७, ५.६७ प्रतिशतले घटेको छ । 

यीसँगै सांग्रिला विकास बैंकको ५.३४, मल्टिप्रपोज फाइनान्स ४.९२ र कर्णाली विकास बैंकको ४.० प्रतिशतले शेयरमूल्य घटेको छ ।  

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्