दार्चुला  । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकै स्थापना गर्न लागिएको सशस्त्र प्रहरीको गुल्मको शिलान्यास गर्न गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली छाङ्‍रु पुगेको छ ।

ब्याँस गाउँपालिका वडा नम्बर-१ छाङ्‍रुमा सीमा सुरक्षाका लागि निर्माण गरिएको सशस्त्र प्रहरीको गुल्म भवन शिलान्यासका लागि गृहमन्त्री थापासहितको टोली छाङ्‍रु पुगेको हो ।

काठमाडौंबाट सुर्खेतसम्म स्काइ ट्रकमा र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमा सो टोलि छाङरु गएको हो। छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि भवन निर्माण हुँदैछ।

छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म भवनको आजै शिलान्यास हुँदैछ।

छाङ्‍रु जाने टोलीमा गृहमन्त्री थापा, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्‍वर न्यौपाने र दार्चुलाका संसद गणेश सिह ठगुन्‍ना पनि छन्।

ब्याँस गाउँपालिकाको छाङरु अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ। गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङ्‍रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिँदैछ ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्