पोखरा : केहि बर्षअघि पर्यटकीय नगरि पोखरामा पर्यटकहरु भरि भराउ हुन्थे। होटल, रेस्टुरेण्ट, पदमार्ग, आकास जताततै पर्यटकको लस्कर लागेको हुन्थ्यो।
बिभिन्न देशबाट घुमफिर गर्न आएका पर्यटकको सेवा र स्वागत गर्दैमा कामदार र व्यवसायीलाई एकछिन फुर्सद मिल्दैनथ्यो। तर अहिले भने मध्यरातसम्म पर्यटकको चहल पहल हुनुपर्ने बेलामा पनि दिउँसै पसलहरुमा ताल्चा ठोकिएको छ। कतिपयले होटलको भाडा तिर्न नसकेर साहुलाई तालाचावी बुझाएर अर्कै पेशा अंगाल्न बाध्य छन्। आफ्नै होटल हुनेहरु बैंकको ब्याज तिर्न नसकेर टाउको समाएर बस्न बिबश छन्।
चाईनाको बुहानबाट सुरु भएको कोरोना भाईरस विश्वभर फैलिएसँगै पर्यटकीय नगरी पोखराको पर्यटन पनि नराम्रोसँग थलिन पुगेको हो। यसअघि भूकम्पले थलिएको पर्यटन क्षेत्र तराई बन्द, हिंसात्मक गतिविधि र नाकाबन्दीको असरले झनै ओरालो लागेको थियो। कमाई ठप्प भएपछि सयौं मजदुर वेरोजगार भएका छन्। व्यवसायीहरु ऋण तिर्न मुस्किल भएर समस्यामा परेका छन्।
कतिपय व्यवसायीले अहिले दिनभर कुर्दा कुर्दै व्यापार नभएपछि पसलमा ताल्चा ठोकेर घरतिरै बसेका छन्। खुलेका पनि कमाई नहुँदा साँझपख निरास हुँदै फर्कने गरेका छन्। अहिलेकै कमाईले खर्च चलाएर, कामदार तलब र बैंकको व्याज तिर्ने भएपनि आम्दानी नहुँदा व्यवसायीहरु मर्कामा परेका छन्।


‘कोरोना महामारीले पर्यटन क्षेत्र बर्षौसम्म उठनै नसक्ने गरी पछि पारेको छ,,’ पोखराको लेकसाईडस्थित होटल जाभा ईनका संचालक लक्ष्य गैह्रेले दुःखेसो पोखे ‘दिनभर रित्तो होटल र सुनसान सडक हेर्दै बस्दा बस्दै समस्या माथि झनै समस्या थपियो। साहुलाई भाडा कसरी तिर्ने? लागेको ऋण कहिले तिर्ने भन्ने मात्रै टेन्सन छ। देशमा शान्ति, सुरक्षा र बिकास भएर पर्यटन उद्योग फस्टाउँला भनेको त पहिला नाकाबन्दीले अहिले कोरोनाले बर्बाद बनायो।’
उनले कोरोनाले अरबौं रुपयाँ लगानी रहेको पर्यटन क्षेत्र खस्किदा धेरैको रोजगारी, लगानीसँगै देशको अर्थतन्त्रमा ठुलो असर पुगेको भन्दै राज्यले शान्ति, सुरक्षाको सन्देश फैलाउनुपर्नेमा जोड दिए।
केहि समय यता अलि अलि नेपाली पर्यटक घुम्न आउनेक्रम बढेकोले अलिकति भएपनि राहत भएको पर्यटन व्यवसायीको भनाई छ। तर स्वदेशी पर्यटकको आवागमन निकै कम भएकोले घुमफिर गर्ने वातावरण बनाउन र आन्तरिक पर्यटन बढाउने कार्यक्रम राज्य र व्यवसायी मिलेर गर्नुपर्ने व्यवसायीहरुको धारणा छ।
पोखराको पर्यटन क्षेत्रमा मात्रै १ खरव भन्दा बढि लगानी पुगेको व्यवसायीको भनाई छ।
पोखरामा बिशेष गरी चिनियाँ, भारतीय र युरोपीयन पर्यटक घुम्न आउँछन्। होटल, रेष्टुरेण्ट, यातायात, प्याराग्लाईडिङ, बन्जिजम्प, पदयात्रा, जलयात्रा, हस्तकलाका सामाग्री लगायतका क्षेत्रमा ठुलो लगानी छ। पोखरामा पाँच तारेसहित ४ सय बढी होटल छन्। करिव पाँच सय बढि पर्यटकीयस्तरका रेष्टुरेण्ट छन्। होटलहरुमा मात्रै १८ हजार मजदुर रोजगार रहेकोमा भूकम्पपछि आधा बढि निकालिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्