विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपालमा कहाँबाट कसरी खोप ल्याउने भन्ने टुंगो नलागे पनि अरु तयारी भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार खोप आएसँगै कसरी भण्डारण गर्ने, कस-कसलाई कसरी लगाउने भन्ने बारेमा तयारी भैरहेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा काम भैरहेको पनि मन्त्रालयले जनाएको छ । विश्वमा खोपलाई समानुपातिक ढंगले वितरणका लागि एउटा खोप सञ्जाल बनेको छ, जसलाई कोभ्याक्स भनिन्छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा काम गर्ने यो सञ्जालले नेपालजस्ता गरिब देशलाई पनि खोप पुर्याउन सहयोग गर्छ । नेपालमा सुरुमा आउने खोप यसैमार्फत आउने हो ।कोभ्याक्सले आफूसँग समन्वय गरिरहेका नेपालजस्ता गरिब देशका लागि सुरुमा कुल जनसंख्याको करिब २० प्रतिशतलाई पुग्ने खोप दिने तयारी गरेको छ । यो खोपको शुल्क पर्ने वा नपर्ने भन्नेबारे त्यसको आर्थिक साझेदारीमा भर पर्छ  यो २० प्रतिशत खोप अनुदानमा दिइने हो वा केही पैसा तिरेर ल्याउनुपर्ने भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म केही पनि बताएको छैन । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले विश्व स्वास्थ्य संगठनले खोपको मान्यता दिएपछि नेपालमा पहिलो चरणमा खोप ल्याउने बताउनुभयो ।  पहिलो चरणमा खोप आएपछि कसरी भण्डारण र वितरण गर्ने भन्नेबारे तयारी भैरहेको उहाँले बताउनुभयो । कोभ्याक्स अन्तर्गत आउने खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको समूहलाई लगाउने तयारी छ । त्यसपछि वृद्धवृद्धालाई प्राथमिकता दिने सरकारले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको तयारी अघि बढाएको छ । जनचेतनादेखि तालिमलगायतका काम भैरहेको र यहाँ भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्ने उहाँले बताउनुभयो । अनुदानमा खोप ल्याउनको लागि कूटनीतिक प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । नेपालमा दुई देखि आठ डिग्रीसम्ममा खोप भण्डारण गर्न सकिने पूर्वाधार छ ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्