कञ्चन थापा ,छोराको चाहना राख्दा राख्दै हजुरआमाले ७ छोरी पाउनु भएको रहेछ । हजुरबुवालाई छोरा नै चाहिएछ । त्यो चाहनाको बोझ अरु कसैलाई परेन, सिर्फ हजुरआमालाई प¥यो । समाज त्यस्तै थियो, छोराछोरी जन्मने वैज्ञानिक कारण पुरुष हो भन्ने थाहा नपाएको समय ।

अपजस जति महिलालाई दिने कुप्रथा थियो । मुखियाली खलकको दबदबामा मेरी हजुरआमा कम्ता सास्ती खेप्नु भएन होला । भाग्यवश मेरो बुवा जन्मिनु भयो र धन्य हजुरआमालाई बोझ हलुंगो भयो ।

हो, त्यस्तो परिवारमा म छोरी भएरै जन्मिएँ । २ दाइ र एक भाइका बीचमा जन्मिँदा मेरो जन्म छोरीकै चाहनाको प्रतिफल थियो । किन पनि भने मैले जे व्यहोरें त्यो मेरी हजुरआमाको पालाको जस्तो भएन ।

म भाग्यमानी भएँ । हजुरबुवालाई जस्तो बुवालाई छोराछोरी बीच भेद गर्न आएन । बुबा मुखिया खलकको कडा अनुशासन र रहनसहन एवं संस्कारमा हुर्किनुभयो तर छोराछोरी बराबरी नै भन्ने आफै बुझ्नुभयो सायद ।

त्यो बुवाकै व्यवहारले गर्दा हो मैले आफूलाई छोरी भएकोमा सधै गर्व गर्न सकेकी छु । कहिले काहिँ यसो सम्झन्छु, यो समाजले छोरी मान्छेप्रति बनाइदिएको धारणा ।

सामाजिक परिवेशहरुमा साक्षात्कार हुँदै हुर्कने क्रमममा होस् या डेढ दशकभन्दा लामो सञ्चार क्षेत्रको यात्राको जिम्मेवारी निभाउँदा बोल्ने, लेख्ने क्रममा होस्, कैयौं छोरी मान्छेका दुख पीडा सञ्चार गरियो । कैयौंका आवाज बनिदिन पुगियो ।

छोरी जन्मिए फर्सी छोरा जन्मिए खसी भन्ने उखानदेखि सुरु भएको छोरीप्रतिको धारणाले अन्तत ‘अपजस’ को रुपमा उनका जीवनभरि घोचिरहेको पाएँ ।

आफ्ना व्यक्तिगत इच्छा चाहना थाँती राखेर, त्याग बलिदानसहित विभिन्न भूमिकाहरु पार गर्दा पनि अन्तमा अरुको गल्तीको सजायको भागिदार बन्नु परेको तीतो यथार्थदेखि ‘यही उस्ती’ भन्ने उपनामले खोपेको घाउ मुटुमा आलो राख्दै बँच्नु परेका ।

यस्तै यस्तै अनगिन्ती दुखम्सुखम् धेरैपटक पढियो, लेखियो अनि देखाइयो पनि । आज यसो सोच्छु म जन्मिँदा मेरा मातापिताको मुहार अँध्यारो भएको भए ।

छोरीप्रति उही पुरातन धारणा झल्किएको भए मेरो जीवन यति चम्किलोकहाँ हुन्थ्यो होला र ? हुन त, छोरा होस् या छोरी, आफ्ना सन्तान माया नगर्ने बाउआमा कहाँ होलान् र ? तर, सन्तान जन्मिँदा बाबुआमाले बनाएको विभेदकारी धारणाले नकारात्मक ऊर्जाको रूपमा छोरीको जीवनभर घोचिरहँदा भन्ने कुरा धेरै कम बाउआमालेमात्र बुझेका हुन्छन् । 

म जन्मिँदा मेरो बुवा दुखी हुनुभएन सायद त्यसैले मैले कहिल्यै पनि छोरी भएको आत्मग्लानि महसुस गर्नुपरेन । २ दशकअघि फर्केर हेर्ने हो भने छोराको जस्तै स्वतन्त्रतामा आफूलाई पाउने भाग्यमानी छोरीको रुपमा पाउँछु ।

छोरीलाई घरभित्र सीमित राख्नुपर्छ भन्ने समाजलाई चिर्दै बुबाले मेरो जीवनमा खोलिदिएको तगारोको कारण आज आफूलाई केही उचाइमा पाएकी छु । छोरी भएर यो गर्ने÷नगर्ने कामको कहिल्यै सामना गर्नुपरेन ।

बुबाकै कारण खेल जीवनमा मैले बिताएको एक दशक मेरो लागि सुनौलो समय बन्यो । छोरीलाई छोरा सरहको अधिकार र वातावरण  दिनुपर्छ भन्ने मान्यताको कारणले नै आज आएर एउट खुला आकाशमा स्वतन्त्ररुपमा उड्ने ती भाग्यमानी पन्छी जस्तै बन्न पाएँ ।

हिजोको दिनमा दिएको वातावरणका कारण आजबुबाको छोरा सरह नै भएकी छु किन कि दाइभाइ विवशता र बाध्यताका कारण सात समुद्रपारि छन् । जन्मदाताको काखैमा बस्न पाउनु पनि एउटा भाग्य र सुखद पल नै हो त्यही पललाई म उपयोग गर्दै छु ।

आज उनै मेरा पुजनीय बुबाको जन्मदिन भएको हुँदा बुवाप्रतिको श्रद्धाका शब्दहरु लेख्न मन लाग्यो । अँ साँच्ची बुवा खुला विचार र समानताको पक्षमा नभइदिएको भए के म तेक्वान्दो सिक्ने अवसर पाउँथे र ? तेक्वान्दो खेल्न सक्थें र ? सक्दिनथें ।

बुवाले छोरीलाई वास्तवमा तेक्वान्दो सिक्न दिनुभएको होइन, रहेछ, यो समाजको रुढीवादी संस्कार र कुरीतिलाई तेक्वान्दो खेलाडीले जस्तै स्ल्याप हान्नुभएको रहेछ ।

मेरो लागि तेक्वान्दो एउटा खेलमात्रै थियो भने छोरीलाई खेल क्षेत्रमा पठाएर बुवाले परम्परावादी समाजलाई चर्कै ढिस्सुम् हान्नुभएको रहेछ । तसर्थ खेलाडीले आफ्ना गुरुहरुलाई प्रणाम गर्दा प्रयोग गर्ने अभिवादनमूलक शब्द सापटी लिन्छु र छोराछोरीबीच विभेद गर्ने समाजलाई बक्सिङ हान्ने शीर निहु¥याएर बुवालाई भन्छु, बुवा हुस् ।

सायद यस्ता उदार र प्रगतिशील विचार अनि व्यवहार भएकैले हो बच्चैदेखि बुवाका सामु कहिल्यै लज्जालु छोरी बन्नुपरेन । घरमै शीर ठाडो बनेर अघि बढ्ने प्रेरणा पाएँ र त समाजमा अघि बढ्न सकें भन्ठान्छु ।

बुवा भन्नेबित्तिकै पुलिसका अघि चोर झै निहुरिनुपर्ने संस्कार पाएको भए आज मेरो आत्मबल कति तल हुन्थ्यो होला ? घरमै बोल्न नसक्ने बन्दा घर व्यवहार र समाजमा आइपर्ने उल्झन सुल्झाउन मलाई कति हम्मे हुँदो हो ? गाह्रोसाह्रोमा दाइभाइकै भर पर्ने संस्कार बुवाले दिनुभएको भए विहेपछि फेरि सिन्को भाँच्न पनि श्रीमान्कै भर पर्ने अवस्थामा हुन्थें कि ?

तर आत्मविश्वास र अठोट आज जुन ममा छ, त्यो आफैंले बनाएर भन्दा पनि बुवाले घरमा दिनुभएको वातावरणको उपज रहेछ भनेर आज बुझेकी छु । होइन भने मसँगसँगैका महिला अझै किन चुलोचौकामात्रै सीमित ?

किन पुरुषको मात्रै आडभरोसामा ? जीवनमा खास आर्जन के गरें अरुले मूल्यांकन गर्ने कुरा हो । तर आत्मसमीक्षा गरिबस्दा आफूलाई आत्मविश्वासी पाउँछु, जसको ऊर्जाको स्रोत अरु कोही होइन बुवा सिर्फ तपाईं नै हो बुवा ।

फेरि पनि आजको यो पावन जन्मदिनमा तपाईंप्रति सतत् नमन् । म तपाईंकी छोरी भएर जन्मन पाएँ । धन्य छु बुवा तपाईंप्रति । 

बुवा घरपरिवारदेखि नै प्रगतिशील विचार र व्यवहारको पक्षधर नभइदिएको भए आज जे उपलब्धि मैले पाउँदैनथें मात्रै होइन । आज जुन स्थान जुन ओदामा हुनुहुन्छ बुवा हुनुहुन्छ, त्यही विचार र व्यवहारको प्रतिफल हो ।

पोखरा महानगरपालिकाको वडा नम्बर ३१ को अध्यक्षको जिम्मेवारी उहाँको काँधमा आउनुका पछाडि समाजमा उहाँका तिनै विचार र व्यवहारको परिणाम हो । जसरी परिवारमा उहाँ अभिभावक र त्यस्तै समाजमा पनि ।

जसरी घरमा सबैको प्रेरणाको स्रोत समाजमा पनि । जसरी परिवारको दुख र सुखको सबैभन्दा आडभरोस, समाजमा पनि त्यस्तै । हो, यिनै यिनै कारण मेरो पिता कमल थापालाई जनताले चुने ।

आज त घरका लागि भन्दा समाजका लागि परिवारका सदस्यका लागि भन्दा ज्यादा जनताका लागि समय र पसिना दिनुभएको छ । छोरी हुनुको नाताले समय पाइनँ भनेर दुख मनाऊ छैन बुवा तपाईंले त मजस्ता अरु थुप्रै छोरीहरुलाई हेर्नु छ । थुप्रै छोराहरुलाई हेर्नुछ । बुवाआमा र दिदीबैनी, दाजुभाइलाई हेर्नु छ । राजनीतिक वातावरणमा हुर्कंदै गर्दा तपाईंको कामप्रति गर्व गर्न सक्ने भइसकेकी छु ।

खल्तीको पैसा रित्याइरित्याइ गाउँठाउँको काममा हिँड्नुभएको थियो, त्यतिबेला पनि गुनासो थिएन भने आज त झन् जनताले नै पत्याएर दिएको जिम्मेवारीमा खट्दा किन दुखी हुनु ? खुसी नै हुन्छु र छु पनि ।

बरु यत्ति त भन्ने हक म छोरीलाई छ बुवा कि तपाईं आफ्नो जिउज्यानको ख्याल गर्नु, स्वास्थ्यको ख्याल गर्नु । अस्ति भर्खर तपाईं बेगनास ताल सफाइमा जुट्दा ज्यानै जोमिखमा पार्नुभयो ।

जलकुम्भी सफा गर्ने यन्त्रसँगै तपाईं पनि डुबेको समाचारले त अहिले पनि मलाई झस्काइरहन्छ बुवा । त्यस्तो जोखिम त नलिनोस् है । ज्यान रहे न जनताको सेवा गर्न पाइने हो ? गर्नुस् जनताको सेवा धित मर्ने गरी गर्नाेस् तर आफैं नरहने गरी हैन है भन्छु ।

लाग्नोस्, दिनरात नभनी खट्नोस् बेगानाशको सेरोफेरोको मुहार फेर्न मरिमेट्नोस्, तर फेरि पनि छोरीको मनले भन्छ, ख्याल चाहिँ आफ्नो ज्यानको पनि गर्नोस्, मलाई मेरो बाबा सधैं चाहिन्छ । आज २८ जेठको यो जन्मदिनमा तपाईंका लागि म भगवानसँग सतायु माग्छु ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्