म्युनिख : जर्मन बुन्डेस लिगा फुटबल तालिकाको दोस्रो स्थानमा आसीन बोरुसिया डर्टमन्डले ‘लिग लिडर’ बायर्न म्युनिखलाई पछ्याउने क्रम जारी राखेको छ। बोरुसिया डर्टमन्डले आइतबार राति खेलिएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी एफसी पाडरबोनलाई उसैको घरेलु मैदानमा ६-१ गोलको फराकिलो अन्तरले हरायो।

जितसँगै बोरुसिया डर्टमन्डले बायर्न म्युनिखसँगको अन्तर पनि सात अंकमा झारेको छ। बोरुसिया डर्टमन्डको सजिलो जितमा इङ्ल्यान्डका युवा खेलाडी जाडन सान्चो नायक बने। खेलमा २० वर्षीय सान्चोले ह्याट्रिक गरे। आफ्नो खेल जीवनमा सान्चोले गरेको यो पहिलो ह्याट्रिक हो।

एफसी पाडरबोनको घरेलु मैदानमा खेलिएको उक्त खेलमा सातवटै गोल दोस्रो हाफमा भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औं मिनेटमा थोर्गन हाजार्डले बोरुसिया डर्टमन्डलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि नै सान्चोले टोलीको अग्रता दोब्बर बनाए।

खेलको ७२औं मिनेटमा उवे हुएनमियरले एफसी पाडरबोनका लागि जवाफी गोल फर्काए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। ७४औं मिनेटमा सान्चोले बोरुसिया डर्टमन्डलाई ३-१ को अग्रता दिलाए। ८५औं मिनेटमा अचरफ हकिमीले बोरुसिया डर्टमन्डका लागि चौथो गोल थपे।

यसैगरी ८९औं मिनेटमा मार्सल स्मिल्जरले टोलीलाई ५-१ गोलले अगाडि बढाए। खेलको अन्तिम समयमा अर्को गोल थप्दै सान्चोले आफ्नो ह्याट्रिक पूरा गरे। सान्चोले गत फेब्रुअरी २९ तारिखपछि पहिलो पटक क्लबका लागि गोल गरेका हुन्।

सान्चो पछिल्लो ३१ वर्षयता युरोपको ठूला लिगमा (इङ्लिस प्रिमियर लिग बाहेक) ह्याट्रिक गर्ने इङ्ल्यान्डको पहिलो खेलाडी पनि बनेका छन्। यसअघि सन् १९८९ को मे ३१ तारिखमा ब्राइन स्टिनले यस्तो सफलता हात पारेका थिए। त्यतिबेला ब्राइनले फ्रेन्च लिगमा ह्याट्रिक गरेका थिए।

हालसम्म २९ खेल खेलेको बायर्न म्युनिख ६७ अंक जोड्दै तालिकाको पहिलो स्थानमा आसीन छ। समान खेलबाट ६० अंक बटुलेको बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छ। कोरोना भाइरसका कारण दुई महिनाभन्दा लामो समय स्थगित रहेको जर्मन बुन्डेस लिगा सुचारु भएपछि खेलिएको महत्‍वपूर्ण खेलमा बायर्नले बोरुसिया डर्टमन्डलाई उसैको घरेलु मैदानमा १-० गोलले हराएको थियो। सोही कारण पनि यी दुई टोलीबीचको अंक दूरी केही बढेको हो।

बोरुसिया मोन्चेनग्लाबाच भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। बोरुसिया मोन्चेनग्लाबाचले २९ खेलबाट ५६ अंक जोडेको छ। बोरुसिया मोन्चेनग्लाबाचले आइतबार राति घरेलु मैदानमा खेलिएको खेलमा एफसी युनियन बर्लिनलाई ४-१ गोलले हरायो।

बायर लेभरकुसन २९ खेलबाट ५६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। रसेलबल स्पोर्ट लिपजिग भने २८ खेलबाट ५५ अंक बटुल्दै तालिकाको पाँचौं स्थानमा छ। बोरुसिया डर्टमन्डसँग पराजित भएको एफसी पाडरबोन २९ खेलबाट १९ अंक जोड्दै तालिकाको १८औं (अन्तिम) स्थानमा छ।

बोरुसिया डर्टमन्डले सन् २०१०/११ र सन् २०११/१२ मा लगातार दुई पटक जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको थियो। त्यसयता लगातार सात पटक बायर्न म्युनिखले बुन्डेस लिगाको उपाधि जित्दै आएको छ। बोरुसिया डर्टमन्डले सन् २०१०÷११ सिजनको उपाधि जित्दा योर्गेन क्लोप क्लबका प्रशिक्षक थिए। उनी हाल इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक छन्।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्