केही दिनदेखि आकाश धुम्म छ । सूर्यका किरण धर्तीमा पुग्न पाएको छैन । चकमन्न घाम देख्न नदेखिएको धेरै दिन भइसक्यो । राजधानीको आकाश तुवाँलोले ढाकेको छ । राजधानी मात्रै होइन देशका विभिन्‍न सहरमा सकस छ ।

तुवाँलोले जनजीवन कष्टकर बनाएको छ । वायुको गुणस्तर संसारकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । नाङ्गो आँखाले टाढासम्म देख्न सक्ने अवस्था छैन । काठमाडौँ उपत्यकाभित्रबाट देखिने आकाशलाई करिब एक सातादेखि तुवाँलोले ढाक्न सुरु गरेको थियो । थुप्रै हवाई उडान प्रभावित छन् भने सडकमा मानिसको चहलपहल पनि कम छ ।

बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएका छन् । यो घातक तुवाँलोले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । तुवाँलोको माध्यमले वातावरणमा पुगेको २.५ माइक्रोनभन्दा ठुलो वा सानो सूक्ष्म कण श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्ने र त्यसपछि रगतको माध्यमले सबै अङ्गमा गएर असर चिकित्सकको भनाइ छ ।

चिकित्सकका अनुसार तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजका साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ । फोक्सोको समस्या भएका र दमको बिरामीलाई बढी असर गर्ने चिकित्सक बताउँछन् । दीर्घ रोग भएका व्यक्तिलाई यस्तो असर बढी देखिएको छ ।
प्रदूषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरूको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष हिउँदमा पर्याप्त पानी परेन र प्रिमनसुन पनि सुक्खा नै छ  । जलवायुमा आएको परिवर्तनले वर्षाको प्याटनमा लगातार परिवर्तन भइरहेको छ भने खडेरी पनि बढिरहेको छ । यससँगै विश्वव्यापी तापक्रम पनि बढिरहेको छ ।

एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण वनजंगलमा डढेलोका घटना बढिरहेका छन् । नेपालमा मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । डढेलो लाग्ने मुख्य सिजन अझै बाँकी नै छ । अर्कोतर्फ अहिले देखिएको तुवाँलो कहिलेसम्म सुधार आउँछ त्यो पनि निश्चित छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार वा बुधवार सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

मान्छेले निम्त्याएको सङ्कट

वायुमण्डलमा अहिले निम्तिएको सङ्कट मान्छेले नै निम्त्याएका हुन् । भन्नलाई डढेलोका कारण अहिले तुवाँलो लागेको भन्ने गरिन्छ । तर, यसका पछाडि वर्षदेखिका मानवीय क्रियाकलाप जिम्मेवार छन् । यो पनि जलवायु परिवर्तनको असर नै हो । वायु प्रदूषण धेरै हदसम्म मानव सिर्जित समस्या हो ।

प्रदूषणको समस्यालाई पूर्ण रूपमा निमिट्यान्न पार्न सम्भव नहोला । सबैको सामूहिक प्रयासबाट यसलाई धेरै हदसम्म कम गर्न सकिन्छ । वनजंगलमा लाग्ने डढेलो मानव सिर्जित समस्या हो । यसदेखि बाहेक विभिन्न उद्योगधन्दा वा कलकारखानाबाट निस्कने धुवाँ, इँटा भट्टा र सवारी साधनबाट निस्कने धुवाँले पनि निरन्तर रूपमा वातावरणलाई प्रदूषित पारिरहेको हुन्छ । विश्वभर वायु प्रदूषणका कारण हुने मृत्युमध्ये दुई तिहाइ मृत्युको मुख्य कारण मानव सिर्जित वायु प्रदूषण रहेको एक अनुसन्धानले देखाएको छ ।

यो मानव क्रियाकलापले सिर्जित समस्या हो । यसको असर पनि मानिसले नै भोगिरहेका छन् । यस्तो सङ्कट भविष्यमा पनि भोगिरहनुपर्ने देखिन्छ । यो समस्या नेपालको मात्रै पनि होइन । जलवायु परिवर्तन अहिले विश्वव्यापी समस्या हो । यसलाई पूर्णतः नियन्त्रण गर्न सम्भव नभए पनि केही सुधार भने गर्न सकिन्छ ।

त्यसका लागि हरेक देश र तिनका नागरिकले आआफ्नो तर्फबाट भूमिका खेल्न जरुरी छ । वनजंगलमा डढेलो लगाउन हुँदैन । यही भन्न थालेको वर्षौँ भयो । तर, नेपालमा प्रत्येक वर्ष डढेलोले सङ्कट निम्त्याउँछ । वायुमा मात्रै होइन डढेलोका असर इको सिस्टममै पर्छ । प्राकृतिक बस्तुको जीवनचक्र नै प्रभावित हुन्छ ।


उद्योग कल कारखाना बन्द गर्ने कुरा भएन । आर्थिक विकासका लागि उद्योग कलकारखाना अपरिहार्य छ । तर, निश्चित मापदण्डका आधारमा सञ्चालन हुनुपर्छ । यसमा स्वयं उद्योग सञ्चालक समेत ध्यान पुर्‍याउनु जरुरी छ । यति हुँदाहुँदै पनि मापदण्ड पालना नभएको पाइए सरकारले स्पष्ट नीति बनाएर कारबाही गर्नुपर्छ । यसतर्फ बेलैमा ध्यान पुर्‍याइएन भने भविष्यमा थप सङ्कटको सामना गर्नुपर्ने निश्चित छ ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्