काठमाडौँ — अपराधबाट कमाएको २० हजार अमेरिकी डलरमा कुरा नमिलेपछि काठमाडौंबाट अपहरण गरी दुई चिनियाँ नागरिकलाई सिन्धुपाल्चोक पुर्‍याएर कुटपिट गरेको खुलेको छ । काठमाडौंमा अपराध गरी आर्जन गरेको रकम भागबन्डा गर्दा विवाद भएपछि चिनियाँ गिरोहले आफ्नै साथीको अपहरण गरी बन्धक बनाएको खुलेको हो ।

पुस १९ को राति काठमाडौंको तिलगंगास्थित एक होटलबाट दुई चिनियाँ नागरिक उ चाओ र झाङ विईले आफ्ना दुई साथी लिउ वेइपिङ र ली सिआओनिङलाई अपहरण गरी ट्याक्सीमा सिन्धुपाल्चोकको मार्मिङ पुर्‍याई एक घरमा बन्धक बनाएर राखेका थिए । अपहरणको सुइँको अर्का चिनियाँ नागरिक चउ चफिङले पाइसकेका रहेछन् । चिनियाँलाई अपहरण र बन्धक बनाउन सिन्धुपाल्चोकको भोटेकोसी–५ का दावा पासाङ लामा र ‘माइला’ भनिने भक्त लामाले सघाएको खुलेको प्रहरीले जनाएको छ ।

मार्मिङमा अपहरणमा संलग्न र अपहरितबीच बन्धक बनाइएको घरमा कुटाकुट नै भएको थियो । त्यसक्रममा अपहरित दुवैको खुट्टा भाँचियो । त्यसपछि उनीहरूलाई अपहरणकारीले नै उपचारका लागि बुधबार काभ्रेको धुलिखेल अस्पतालमा ल्याए । तर अस्पतालले भर्ना गर्न मानेन र ललितपुरको बी एन्ड बी अस्पताल पुर्‍याइयो । अस्पताल पुगेपछि अपहरणकारी र सघाउने दुई नेपाली फरार भए । आइतबार नै अपहरणको सुइँको पाएका चफिङले प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटियो । त्यही दिन साँझ अपहरणमा संलग्न दुई चिनियाँसहित चारै जना ठमेललगायत स्थानबाट पक्राउ परे । अहिले उक्त घटनाबारे प्रहरीले दोभासे राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

स्रोतका अनुसार अपहरणको प्रमुख कारण नै २० हजार अमेरिकी डलर नदिनु हो । अपहरणमा पर्नुअघि १५ हजार डलर भने भुक्तानी भएको र ५ हजार डलर मात्रै दिन बाँकी थियो । उक्त रकम अनलाइनबाटै चीनमा रहेका व्यक्तिलाई पठाइएको र बाँकी भुक्तानी नदिएपछि विवाद हुँदा त्यसले अपहरणको रूप लिएको खुलेको छ ।

‘नेपालमा अपराध गरेर आर्जित रकम चीनमा भुक्तानी गरिँदो रहेछ, त्यही क्रममा यी दुवै समूहबीच लेनदेन विवाद भएको देखिन्छ,’ स्रोतले भन्यो, ‘लेनदेन विवाद चर्किंदै जाँदा ५ हजार डलरमा कुरा नमिलेपछि अपहरण गरिएको देखिन्छ ।’ चिनियाँबीच भएको डलर कारोबारको स्रोत के हो भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले अपहरण लेनदेन विवादकै कारण भएको खुले पनि विस्तृत विषय अनुसन्धानकै क्रममा रहेको बताए । ‘दोभासे राखेर कुरा गरिरहेका छौं,’ एसएसपी सिंहले भने, ‘कति रकममा विवाद भएको भन्नेचाहिँ अनुसन्धान सकिएपछि मात्रै खुल्छ ।’ घाइते दुवैको बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चल्ने एसएसपी सिंहले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्