देवघाटमा भक्तजनको भीड (फोटो फिचर)

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

चितवन- तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम जारी छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो ।

शनिबार दिउँसोदेखि नै भक्तजन देवघाटधाम आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ ।

मेलाको अववसरमा राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थापन गर्न क्षेत्र विकास समितिले एक सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको छ ।

चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम गरिएको छ । स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बिजुली बत्तीको व्यवस्था गर्न चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई जिम्मा दिइएको छ ।

खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनाइएको छ । यसपटक चितवनबाट देवघाट जाने झोलुङ्गे पुलमा एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी सुरक्षाकर्मी राखिने इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज भेषराज रेग्मीले जानकारी दिनुभयो । विसं २०३७ मा बनेको पुल जीर्ण बनेकाले कुनै दुर्घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको रेग्मीले बताउनुभयो ।

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने विश्वास क्षेत्र विकास समितिले लिएको छ । नदीबाट नै वारपार गर्न चाहनेहरूका लागि ३५ वटा डुङङ्गाको व्यवस्था गरिएको छ ।

एक जनाको रु ३५ भाडा लिएर चितवनबाट देवघाटको काली नदी छेउसम्म डुङ्गामार्फत आउजाउ गर्ने व्यवस्था गरिएको छ । मेलामा जानका लागि भरतपुरतर्फबाट रामनगरबाट पस्ने र आँपटारी क्षेत्रबाट निस्कने व्यवस्था मिलाइएको छ । यसका लागि ठाउँठाउँमा प्रहरीहरु परिचालन गरेर व्यवस्थापन सहज बताइएको छ ।

सवारीको अत्याधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । पुल बनाउनका लागि दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने छ ।-

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्