पोखराबाट विदेश कहिले उड्ला विमान ?

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

पोखरा : जग्गा अधिग्रहण गरेको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ देखि सञ्चालनमा आयो। अंग्रेजी नयाँ वर्ष २०२३ को शुभारम्भसँगै विमानस्थल सञ्चालन हुँदा स्थानीय र पर्यटन व्यवसायी हर्षित बने। तर, सञ्चालन भएको यतिका समयमा पनि अन्तर्राष्ट्रिय उडान भने भएको छैन। आन्तरिक उडानमा विमानस्थल सीमित छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारी भने चाँडै विमानले विदेश पनि उडान भर्ने बताउँछन्। ‘दुई महिना भत्र अन्तर्राष्ट्रिय उडान हुन्छ,’ क्यानका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘यसका लागि नेपालकै वायु सेवाहरू बुद्ध एयर, नेपाल एयरलाइन्स, हिमालयनले अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी र पहल गरिरहेकाले अनुमति पाएलगत्तै उडान हुन्छ।’

अन्तर्राष्ट्रिय उडानका लागि जुन देशमा जुन कम्पनीको वायु सेवाले उडान भर्ने हो, त्यो कम्पनीले अनुमति माग्ने र उडान भर्ने हो। क्यानले भने विमानस्थलको अवस्था कस्तो छ ? कस्तो–कस्तो जहाज आउन सक्छ ? कस्तो कस्तो सुविधा छ ? भन्ने कुरा तयार पारेर विदेशी वायु सेवालाई जानकारी गराउने मात्र भएको उनले बताए। ‘विदेशी वायु सेवा कम्पनीले नेपालमा उडानका लागि हामीसँग अनुमति माग्छन् हामी त्यो अनुमति दिन तयार छौं,’ उनले भने।

नेपालको वायु सेवाले भारतलगायत विभिन्न देशमा उडानका लागि अनुमति मागेका छन्। अबको दुई महिनाभित्र वायुसेवा कम्पनीले भारतलगायत बिभिन्न देशमा उडानका लागि अनुमति पाउने र पोखराबाट विभिन्न देशमा उडान हुने उनले विश्वास व्यक्त गरे।

विदेशी एयरलाइन्स पनि पोखरामा उडान भर्न चाहिरहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने काम उनीहरूबाट भइरहेको पनि निरौलाले जानकारी दिए। बंगलादेश, भुटान, भारतका एयरलाइन्स कम्पनी, जजिरालगायत एयरलाइन्सले पोखरामा उडानका लागि चासो देखाएर अध्ययन गरिरहेको क्यानका प्रवक्ता निरौलाले जनाए। नेपालका तीन वायु सेवा कम्पनीले भारतलगायत विभिन्न देशमा उडानका लागि अनुमति लिन निवेदन दिएका छन्। अनुमति पाएलगत्तै उडान भर्ने उनले सुनाए। ‘बुद्धले उद्घाटनकै दिन बनारस उडानका लागि अनुमति मागेको थियो। भारतबाट अनुमति आएन। अनुमति नआएपछि उड्ने कुरा भएन। त्यो भएर जुन मुलुकमा उडान भर्ने हो त्यो देशको सरकारले अनुमति दिनुपर्ने हो,’ उनले भने।

बुद्ध एयरले भारतका तीन सहरमा उडान भर्न अनुमति मागे पनि अहिलेसम्म भारतबाट कुनै जवाफ नआएको एयरलाइन्सले जनाएको छ। ‘हामीले अनुमतिका लागि जे जति ठाउँमा निवेदन दिनुपर्ने हो, त्यहाँ दिइसकेको छ तर, अहिलेसम्म कुनै जवाफ आएको छैन,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए।

उद्घाटनको दिनमा पोखरा–बनारस, बनारस–पोखरा उडान गर्न अनुमति मागे पनि कुनै रेस्पोन्स नआएपछि चाहेर पनि बनारस उडान भर्न नसकेको उनले सुनाए। बुद्धले अहिले काठमाडौंबाट बनारस उडान गरिरहेको र अनुमति पाएलगत्तै पोखराबाट बनारस, देहरादुन र दिल्ली पनि उडान गर्ने योजना रहेको सूचना अधिकारी कर्णले जानकारी दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पोखराका पर्यटन व्यवसायीका तर्फबाट विभिन्न देशका वायु सेवा कम्पनीसँग कुरा भएको पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। थाई स्माइल, फ्लाई दुबईलगायतका वायु सेवा कम्पनीका प्रतिनिधि पोखरा आएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेको र उनीहरू पोखरा उडानका लागि सकारात्मक देखिएकोले यही आउँदो फेब्रुवरीदेखि पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने विश्वास पर्यटन व्यवसायीमा रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

अन्तर्राष्ट्रिय उडानका लागि नेपाल सरकारले विशेषगरी भारत सरकारसँग नेपालका वायु सेवा कम्पनीहरूलाई भारतका विभिन्न सहरमा उडान भर्न छिट्टै अनुमति दिने गरी पहल गर्नु पर्नेमा उनले जोड दिए। भारत उडान सुरुसँगै अरू विदेशी विमान कम्पनी पनि पोखरामा उडान भर्न थप उत्साहित हुने भएकाले भारत, चीनलगायतका देशमा उडान भर्न संघ सरकारले नै पहल गर्नुपर्ने श्रेष्ठको भनाइ छ।

सरकारले सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास गरेको थियो। कोरोनाको कारण सामान आयात प्रभावित र कामदार अभाव भएपछि एक वर्ष म्याद थपिएको थियो। विमानस्थल निर्माणका लागि चीनको झन्डै २२ अर्ब सहुलियतपूर्ण ऋण छ।

नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच सन् २०१४ को मे ३१ मा ठेक्का सम्झौता भएको थियो। नेपाल र चीनको एक्जिम बैंकबीच २०१६ मार्च २१ मा ऋण सम्झौता भएको हो। सरकारले प्राधिकरणसँग २०१६ जुन ५ मा ऋण सम्झौता गर्यो। एक्जिम बैंकले २०१७ मे ३१ देखि ऋण प्रवाह गरेको थियो। यसरी सन् २०१७ जुलाई ११ मा काम सुरु भएको थियो।

२०३२ सालमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्न सुरु भएको थियो। ३८ सय ९९ रोपनी क्षेत्रफलमा विमानस्थल रहेको आयोजनाले जनाएको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनेको हो। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्