भारतका चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ।

बुधबार उनलाई हृदयाघात भएर अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस, दिल्लीमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इन्डिया डटकमका अनुसार जिममा भएका बेला उनलाई हृदयाघात भएको हो। उनी ट्रेडमिलमा दौडिरहेका बेला बेहोस भएका थिए। 

श्रीवास्तवलाई तत्कालै उनका प्रशिक्षकले अस्पताल लगेका थिए। त्यसपछि इमरजेन्सीमा भर्ना गराएर उनलाई दुई पटक सिपिआर दिइएको थियो। सिपिआर भनेको विशेषगरी हृदयाघात भएकाहरूको उपचारका निम्ति प्रयोग गरिने प्रविधि हो। 

उनी अहिले चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ।

५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी ‘इन्डियाज लाफ्टर च्यालेन्ज’, ‘बिग बोस सिजन ३’, ‘देख भाइ देख’ जस्ता कार्यक्रममा देखिएका छन्।

त्यस्तै ‘बम्बई टु गोवा’ र ‘ट्वाइलेटः एक प्रेम कथा’ जस्ता फिल्ममा पनि उनले अभिनय गरिसकेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्