लामो विवाद र रस्साकस्सी पछि अन्ततः असार १ गतेबाट लकडाउन खुकुलो गर्ने तयारीमा सरकार पुगेको छ । यसअघि जेठ २५ बाटै लकडाउन खुकुलो गर्ने तयारी भएपनि सुरक्षा निकायको असहमतिसँगै उक्त प्रस्ताव अलपत्र परेको थियो ।

असार १ देखि लकडाउन खुकुलो गर्नेसम्बन्धि मोडालिटी तयार गरेको प्रस्ताव अन्तिम चरणमा पुगेको हो । लकडाउन खुकुलो बनाउन अध्ययन गरिरहेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्यसचीव तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका सचिव नारायण प्रसाद बिडारीले पनि १ असार बाट लकडाउन खुकुलो हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति र यससम्बन्धी संयन्त्रले अलगअलग प्रस्ताव तयार गरिरहेका छन् । सुरक्षा निकायलाई पनि प्रस्ताव तयार गरी पेश गर्न सरकारले निर्देशन दिएको बुझिएको छ । ती सबै सुझावबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता पूर्वक छलफल गरिरहेका छन् । सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको समन्वय समितिले १० चरणको लकडाउन मोडालिटीबारे प्रधानमन्त्री ओलीसँग छलफल समेत गरेको थियो ।

प्रस्तावित मोडालिटीको मस्यौदामा सार्वजनिक यातायात सञ्चालनको मिति र विधिबारे समेत स्पष्ट उल्लेख गरिएको छ । सार्वजनिक यातायातलाई आधा सिटमात्रै यात्रु राखेर सञ्चालन गर्न दिने सरकारको तयारी छ । अत्यावश्यक कामकाजका लागि निजि सवारी साधन पनि आधा सिट मात्रै प्रयोगको अनुमति दिने सरकारको तयारी छ ।

मोडालिटी मस्यौदामा निजि शैक्षिक संस्था साउनपछि सञ्चालनको प्रस्ताव गरिएपनि अहिले क्वारेन्टाइन सेन्टरको रूपमा प्रयोग भएका सरकारी विद्यालयको बारेमा भने प्रतिवेदन मौन छ । विकास तथा निर्माणको काम पनि असार १ बाट पूर्ण रूपमा सुचारु हुनेछ ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्