पाल्पा – ‘हिजोआजका मान्छेलाई टोपी लाउनै आउँदैन’, बगनासकाली ७ कल्लाबारीका ८२ वर्षीय मानबहादुर रानाले विगत सम्झँदै भन्नुभयो, ‘अहिले लगाइने सिधा टोपी सरकार र सभ्यताको लागि मात्रै हो ।’

रानाका अनुसार पूजाआजा र धार्मिक कार्यक्रममा जाँदा दायाँ र प्रेमिकालाई भेट्न जाँदा बायाँ ढल्काएर टोपी लगाउनुपर्छ । ‘बिहे, भोजभतेर वा रमझममा सिधा लगाउने चलन हो’, उहाँले भन्नुभयो । 

‘धेरैलाई त जुवाडेले लगाउने तरिका मात्रै थाहा छ’, ६९ वर्षीय गमबहादुर थापाले भन्नुभयो, ‘हिँड्ने बेलामा कता भनेर सोध्नै पर्दैन थियो, उसले लगाएको टोपी हेरेर थाहा हुन्थ्यो ।’ थापाका अनुसार पछाडि ढल्काएर टोपी लाए जुवा खेल्न हिँडेको भन्ने थाहा हुन्थ्यो । 

‘लज्जालुहरुले निधारै छोपेर अगाडि ढल्कने गरी टोपी लाउने चलन हो’, गमबहादुरले भन्नुभयो, ‘उबेला टोपी लगाउने मान्छेलाई राम्रो मानिन्थ्यो ।’ 

त्यसबेला अहिलेको जस्तो ढाकाको टोपी थिएन । ‘भारतमा गएका आफन्तहरुबाट कोरा वा भादगाउँले टोपी मगाउनुपथ्र्यो’, ७८ वर्षीय वीरबहादुर थापाले भन्नुभयो, ‘किन्न पैसा नहुने, पाउन मुस्किल पर्ने भएकाले एउटै टोपी वर्षौँसम्म लगाउनुपर्थ्याे ।’

टोपी लगाउने तरिकाको बारेमा बूढापाकाहरुको पुराना फोटो हेर्दा जानकारी भएको भन्दै खानीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक नलबहादुर साठीघरेले बा–बाजेहरुले लगाएको देखेरै आफूले पनि टोपी लगाएको बताउनुभयो ।  ‘पहिले लगाउने तरिका र अहिलेमा धेरै फरक छ’, ५३ वर्षीय साठीघरेले भन्नुभयो, ‘अहिले नेपाली पहिचानका लागि पनि टोपीको महत्त्व छ ।’ 

पाल्पाली ढाकाको अवस्था के छ ? 

ढाका टोपी भन्नेबित्तिकै धेरैलाई पाल्पाको सम्झना आउँछ । २०१५ सालमा नेपालमै पहिलो पटक तानसेनबाट सुरु भएको पाल्पाली ढाका अहिले ओझेल पर्दैछ । कामदारको अभाव, कच्चा पदार्थ पाउन मुस्किललगायतका कारण पनि ढाका सङ्कटमा परेको हो ।  

स्वर्गीय गणेशमान महर्जनले पाल्पाली ढाकाको व्यवसाय सुरु गर्नुभएको थियो । पाँच सयभन्दा बढी कामदारलाई रोजगारी दिएर ढाकाको उद्योग चलाएको सम्झने स्वर्गीय गणेशमानकी श्रीमती ८२ वर्षीया पूर्णमाया महर्जनले अहिले पाल्पालीको नाउँमा केही व्यापारीहरुले गोरखपुरलगायत पूर्वेली ढाका ल्याएर सस्तोमा बेच्दा पनि समस्या भएको बताउनुभयो । 

पहिले ढाका टोपी र चोली मात्रै चलनमा थियो । केही वर्ष अघिदेखि खस्किँदो ढाकालाई उकास्न ढाकाको उत्पादनलाई विविधीकरण गरियो । ढाकाकै पर्स, झोला, टाइलगायत विभिन्न सामग्री बन्न थाले । धेरैले रोजगारी पनि पाए ।

ढाका व्यापारी हरि रायमाझीका अनुसार अहिले पनि तानसेनबाटै वार्षिक चार करोडभन्दा बढीको कारोबार ढाका व्यवसायबाटै हुन्छ । तर पाल्पालीभन्दा बाहिरबाटै ल्याएका ढाका यहाँबाट बेचिएका छन् । पाल्पा चिनाउने ढाका अहिले सङ्कटमा रहेकोमा निकै चिन्ता लागेको पूर्णमायाले बताउनुभयो । 

https://www.ujyaaloonline.com/

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्