आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।

नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास’ (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउने श्रेय बराललाई जान्छ । त्यसैले उनलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ ।

विसं १९८५ साल वैशाख ५ मा हालको पूर्वी नवलपरासी देवचुलीमा उनको जन्म भएको हो । उनी विसं २०१३ सालमा लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा नियुक्त हुँदै प्रहरी सेवामा प्रवेश गरेका थिए । बरालले भारतको माउन्ट आबुबाट आई.पी.एस. तालिम, जापानको ‘टोकियो ईम्पिरियल पुलिस कलेज’, संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित कार्डिफ पुलिस स्कुल र संयुक्त राज्य अमेरिकाको एफ.बि.आई. बाट तालिम प्राप्त गरेका थिए ।

२०२५–२७ सालमा बराल नेपालगन्जमा डीआईजी छँदा उनको अग्रसरतामा नेपाल–भारत सीमामा प्रथम पटक सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए । उनी २०२९ देखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘१६ वर्षीय सीमा सुरक्षा प्रहरी चौकी’ को योजना बनाइएको थियो ।

उनले अवकाश पाउनु अघिसम्म नेपाल-चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए ।

बरालले प्रहरी सुधार योजना नेपालको तत्कालीन सरकारबाट स्वीकृत गराई त्यसलाई कार्यान्वयन गरेर प्रहरी प्रधान कार्यालय लगायतका अन्य प्रहरी इकाइहरूमा नियन्त्रण सुपरिवेक्षण प्रबन्ध आदिको प्रशासनिक व्यवस्था, प्रहरीको काम, कर्तव्य आदि विविध पक्षमा सुधारात्मक कार्यहरू गरेका थिए ।

प्रहरीमा हुने सरुवा–बढुवामा ‘हुकुम प्रमाङ्गी’ ले संगठनमा उत्पन्न गराउने अस्थिरता र मनोबल गिराउने जस्ता नकारात्मक पक्षका बारे उनले राजा वीरेन्द्रलाई बताएपछि सो व्यवस्थाको पनि अन्त्य भएको थियो ।

प्रहरीबाट अवकाश पाएका उनी २०३६ देखि २०४२ सालसम्म म्यान्मारका लागि आवासीय नेपाली राजदूत भएका थिए । 

यसका अतिरिक्त उनले इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो–चाइना (लाओस, कम्बोडिया र भियतनाम)का लागि गैरआवासीय राजदूतको जिम्मेवारी एकैसाथ बहन गरेका थिए ।

बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनीत सांसद भएका थिए । सांसदको रूपमा सेवा समाप्त गरेपछि उनी युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक) को प्रमुख सम्पर्क अधिकृत भए ।

बराल लोकसेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उत्तीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुन् । साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुने भएता पनि उनले ६ वर्षसम्म प्रहरी महानिरीक्षक जिम्मेवारी सम्हालेका थिए ।

उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकारविहीन शरणार्थीसरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गरेका थिए । 

बरालको खेलकुद क्षेत्रमा पनि उत्तिकै रुचि थियो । नेपालमा जुडो खेल भित्र्याउने श्रेय उनलाई जान्छ । यस्तै, हकी, गल्फ र ब्याडमिन्टन लगायत खेलहरुका निकायमा पनि उनी आबद्ध थिए । 

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्